अमेरिकाद्वारा पहलगाम आक्रमणमा संलग्न टीआरएफ आतङ्कवादी घोषित
अमेरिकाले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको भन्दै ‘द रेजिस्टेन्स फ्रन्टलाई विदेशी आतङ्कवादी संगठन र विशेष रूपमा निर्दिष्ट वैश्विक आतङ्ककारी को रूपमा सूचीबद्ध गरेको छ। अमेरिकी राज्य सचिव मार्को रुबियोले टीआरएफलाई पाकिस्तानमा आधारित आतङ्कवादी संगठन लश्कर-ए-तैयबाको “फ्रन्ट र प्रोक्सी” भएको उल्लेख गर्दै यस संगठनमाथि कारबाहीको घोषणा गरेका हुन्।
राज्य विभागद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “आज हामी टीआरएफ र त्यससँग सम्बन्धित अन्य उपनामहरूलाई अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१९ र कार्यकारी आदेश १३२२४ अन्तर्गत आतङ्कवादी संगठनका रूपमा नामित गर्दैछौं।”
यो कदमले अमेरिकाको राष्ट्रिय सुरक्षाको रक्षा, आतङ्कवादविरुद्धको लडाइँ र पहलगाम आक्रमणमा संलग्न दोषीहरूलाई सजाए दिलाउने प्रतिबद्धता दर्शाउने विज्ञप्तिमा उल्लेख छ। यस घोषणासँगै टीआरएफ अब लश्कर-ए-तैयबाको पदनाममा औपचारिक रूपमा थपिएको छ।
गत अप्रिल २२ मा टीआरएफ का आतङ्ककारीहरू जम्मु-कश्मीरको बैसारण उपत्यकामा प्रवेश गरी पर्यटकमाथि गोली चलाएका थिए, जसमा एक नेपाली सहित २६ जना सर्वसाधारणको ज्यान गएको थियो। यो जघन्य आक्रमणपछि भारतभर आक्रोश फैलिएको थियो भने अन्तर्राष्ट्रिय समुदायले पनि घटना विरुद्ध कडा भर्त्सना गरेका थिए।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी मृतकप्रति समवेदना व्यक्त गरेका थिए। साथै, उनले भारतलाई आतङ्कवादविरुद्धको लडाइँमा सबै किसिमको सहयोगको प्रस्ताव समेत राखेका थिए।
प्रधानमन्त्री मोदीले अमेरिकी समर्थनप्रति आभार प्रकट गर्दै भारत उक्त आक्रमणका दोषी तथा समर्थकलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका थिए। ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै पहलगाम हमलालाई “एकदमै खराब आक्रमण” भन्दै, “कश्मीरमा सयौं वर्षदेखि द्वन्द्व चलिरहेको छ, तर यस्तो हिंसा स्वीकार्य हुन सक्दैन,” बताएका थिए।
अमेरिकाको यो निर्णयले भारतको आतङ्कवादविरुद्धको प्रयासलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त गराउने अपेक्षा गरिएको छ।
