भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुससहित रंगेहात पक्राउ

तु खबर संवाददाता
२०८२ असार ३१, मंगलवार १८:४०

काठमाडौँ । मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार चाँगुनारायण नगरपालिका–५ मा अवस्थित करिब १४ रोपनी ४ आना जग्गा मोही र तल्सिङको विवरण मिलाएर मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रक्रिया मिलाइदिने भन्दै सेवाग्रहीसँग २४ लाख ५० हजार रुपैयाँ माग गरिएको थियो। सोही रकम लिँदै गर्दा उनीहरू रंगेहात पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिहरूसँग भएको २ थान मोबाइल फोन पनि जफत गरिएको आयोगले जनाएको छ।