प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५ लाख भ्रष्टाचार

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा झण्डै १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। नगरपालिकाले सञ्चालन गरेको उक्त परियोजना अन्तर्गतको कृषि प्रवर्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षकै मिलेमतोमा भ्रष्टाचार भएको खुलेको हो।
नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा उक्त परियोजना अन्तर्गत किसानलाई धानको बीउ र बाख्रा वितरण गर्ने भनेर १५ लाख बजेट विनियोजन गरेको थियो। त्यसपछि नगरपालिकाले सार्वजनिक सूचना निकाल्नुपर्नेमा कोभिडको कारण सम्भव नभएको भन्दै अर्चना कृषि सहकारी संस्था लिमिटेडसँग सिधै १५ लाखको ठेक्का सम्झौता गरेर किसानलाई धानको बीउ, ब्राखा आदि वितरण गर्ने भनिएको थियो।
तर उक्त बजेट बापतको धानको बीउ, बाख्रा किसानसम्म नपुग्दै बीचमै हराएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको थियो। अख्तियारले छानबीन गर्दा ठेक्का पाएको संस्थाले उक्त रकमले राधा कृषि फार्मबाट बाख्रा खरीद गरेर ८ नम्बरका वडाध्यक्षलाई वितरण गरेको भन्दै बिल पेश गरेको थियो।
तर राधा कृषि फार्मले भने उक्त बिल अनुसारको आफूबाट कुनै बिक्री नभएको विवरण दिएपछि कैफियत भेटिएको थियो। त्यसपछि अख्तियारले आन्तरिक राजश्व कार्यालयमा बुझ्दा समेत राधा फार्मले त्यसरी ब्राखा बिक्री नगरेको विवरण दिएपछि अख्तियारले मुद्दा चलाएको हो।
यसरी किसानलाई दिनुपर्ने अनुदान वडाध्यक्षकै नाममा दर्ता बाख्रा फार्ममा वितरण गरेको भन्दै झुटो बिल तयार गरी १४ लाख ७७ हजार ५०० रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियारले सोमबार विशेष अदालतमा ७ जनालाई विपक्षी बनाउँदै मुद्दा चलाएको हो।
मुद्दा खेप्नेहरूमा सबैला नगरपालिकाका तत्कालीन वडाध्यक्ष दुर्गा प्रसाद राय, इन्जिनियर रंजित कुमार यादव, लेखापाल शिव कुमार झा, पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजु कुमारी यादव, तत्कालीन प्रशासकीय अधिकृत स्वर्गीय बालबीर ठाकुरको श्रीमति पलवी ठाकुर र छोरा रौनित ठाकुर रहेका छन्।
पलवी ठाकुर र रौनित ठाकुरलाई भ्रष्टाचार बापतको बिगो असुल गर्नका लागि मात्रै अख्तियारले विपक्षी बनाएको हो।