महानगरको बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन

तु खबर संवाददाता
२०८२ असार २९, आईतवार १६:२८

काठमाडौँ महानगरपालिकाले अन्ततः आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। समयमै नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकेकोप्रति उपमेयर सुनिता डंगोलले नगरवासीसँग क्षमायाचना गर्दै पछिल्ला तितामिठा अनुभवले समाधानतर्फको बाटो खोलेको बताइन्।

“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा निर्धारण भएको समयसीमा भन्दा केही ढिला भएका छौं,” डंगोलले भनिन्, “विगतमा केही अविश्वास, आरोप-प्रत्यारोप भए पनि अहिले हामी एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं।”

सामान्यतया असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि आन्तरिक राजनीतिक द्वन्द्वका कारण महानगर ढिलो भएको हो।

महानगरको १७औं नगरसभामा प्रस्तुत बजेटअनुसार आगामी वर्षको खर्च योजनामा पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ५१ प्रतिशत बजेट विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ २० प्रतिशत, प्रशासनिक क्षेत्रमा १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासतर्फ ३ प्रतिशत बजेट छुट्याइएको छ।

महानगरको राजस्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा तय गरेकोमा सोही आधारमा संशोधित बजेट प्रस्तुत गरिएको हो। चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको थियो भने १० अर्ब ९ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ।

नगरसभा बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले पूर्ण कार्यान्वयनका लागि सबै तहको सामूहिक प्रतिबद्धता आवश्यक हुने उल्लेख गरे।
“नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिमको क्रियाशीलता आवश्यक हुन्छ,” उनले भने।