बैतडीमा जीप दुर्घटना: दुईको मृत्यु, ६ घाइते
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्।
डीएसपी जोराका अनुसार गम्भीर घाइते कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनामा परेको जीप सडकबाट करिब ७० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



