त्रिभुवन विमानस्थलमा खादा, माला र संस्थागत पोसाक प्रयोगमा प्रतिबन्ध
काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा कुनै पनि संस्थाको परिचय झल्काउने पोसाक वा सामग्री प्रयोग गर्न नपाइने भएको छ।
विमानस्थलको अध्यागमन कार्यालयले बुधबार सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र ‘संवेदनशील र सुरक्षात्मक’ भएकोले खादा, माला, टोपी, ब्याच लगायतका सजावटी तथा पहिचानजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ।
कार्यालयले स्पष्ट पारेअनुसार अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा अध्यागमन काउन्टरमा रहँदा कुनै पनि समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको पोशाक, चिन्ह वा अन्य पहिचान झल्काउने वस्तु प्रयोग गर्न नपाइनेछ।
“यस्ता सामग्रीको प्रयोगले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको जस्तो देखिन सक्ने, अन्य यात्रुमा भेदभावको अनुभूति गराउन सक्ने र सुरक्षा दृष्टिले पनि चुनौतीपूर्ण हुन सक्ने भएकोले यो निर्णय गरिएको हो,” सूचनामा उल्लेख गरिएको छ।
नयाँ नियमले अध्यागमन प्रक्रियामा सबै यात्रुबीच समान व्यवहार सुनिश्चित गर्न सहयोग पुग्ने कार्यालयको भनाइ छ। नियम तत्काल लागू हुने जनाएको छ।

