शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय अभियोग

तु खबर संवाददाता
२०८२ असार २६, बिहीबार १६:४०

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनामाथि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले औपचारिक रूपमा मानवता विरुद्धको अपराधमा अभियोग लगाएको छ। भारतमा निर्वासनमा रहेकी ७७ वर्षीया हसिनामाथि गत वर्षको जनआन्दोलनका क्रममा सयौं नागरिकको मृत्युमा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको हो।

न्यायमूर्ति गुलाम मोर्तुजा मोजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय प्यानलले शेख हसिना, पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनमाथि पाँचवटा गम्भीर आरोप लगाएको हो। अभियुक्तमध्ये चौधरी अब्दुल्लाह अल-मामुनले दोष स्वीकार गर्दै राज्यको साक्षी बन्ने इच्छा व्यक्त गरेका छन्।

मुद्दा अनुपस्थितिमै चलिरहेको भए पनि अल-मामुनमात्र हिरासतमा छन्। रिपोर्ट अनुसार, गत वर्ष अगस्ट ५ मा अवामी लिग सरकारको पतनपछि शेख हसिना भारततर्फ भागेकी थिइन्। त्यसबेलाको जनआन्दोलनमा झन्डै १,४०० जनाको मृत्यु भएको थियो भन्ने संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायोगको तथ्याङ्क छ।

आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले अदालतमा दाबी गरेअनुसार शेख हसिनाको नेतृत्वमा प्रदर्शनकारीहरूलाई दमन गर्न राज्यका सबै सुरक्षा निकाय र पार्टी कार्यकर्ताहरू परिचालित गरी “व्यवस्थित, व्यापक र योजनाबद्ध आक्रमण” गरिएको थियो।

मानवता विरुद्धको अपराध अन्तर्गत यो मुद्दा बंगलादेशको राजनीति र न्याय प्रणालीका लागि ऐतिहासिक मोड बन्न सक्ने देखिएको छ।