भोटेकोशी बाढीको प्रकोप: २० बेपत्ता, चीनसँगको व्यापार ठप्प
रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीमा परी २० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये ३ जना नेपाल प्रहरी र ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको नेतृत्वमा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा उद्धार कार्य जारी छ। हालसम्म ५५ जनाको उद्धार गरिएको छ।
बाढीले नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा भयानक क्षति पुर्याएको छ। नेपाल–चीनबीचको ‘मितेरी पुल’ बगाउँदा सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ भने स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवा भन्सार कार्यालय यार्ड, ईभी चार्जिङ स्टेशन तथा रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि ठूलो क्षति पुगेको छ।
सुक्खा बन्दरगाह क्षेत्रमा रहेका कन्टेनर र ट्रकहरू बगाउँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार आयात–निर्यातका व्यापारिक मालसामानमा मात्रै करिब ५ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण अझै आउन बाँकी रहेको प्रशासनले जनाएको छ।
बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनाहरूबाट उत्पादन हुने करिब २०० मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बगाएको छ। आयोजनाको पुल चर्किएको र आवतजावत बन्द भएको छ भने टेलरेसमा गेग्रान थुप्रिएको छ। पावरहाउसमा भने ठूला क्षति नभएको प्राधिकरणले जनाएको छ।
यस बाढीले चीनसँगको व्यापार मात्र होइन, ऊर्जा आपूर्तिमा समेत गम्भीर असर पु-याएको छ। नाकाको पुनर्सञ्चालन र क्षतिको पुनःमूल्यांकनका लागि तत्काल पहल गर्न आवश्यक देखिएको छ।
