त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

तु खबर संवाददाता
२०८२ असार २४, मंगलवार ०९:२४

नुवाकोटको त्रिशूली बजार नजिकैको त्रिशूली नदीमा बाढीले फसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत  उद्धार गरेको छ।

सोमबार राति विदुर नगरपालिका–५ स्थित इन्द्रेणीघाटमा घाँस–दाउरा गर्न गएका उनीहरू त्रिशूली नदीमा आकस्मिक रूपमा आएको बाढीका कारण फसेका थिए। नदीमा पानीको बहाव तीव्र भएपछि उनीहरू ज्यान जोगाउन नजिकैको रुखमा चढेर बसेका थिए।

उद्धारका लागि सुरुमा सानो हेलिकप्टर (एक्वेरल) परिचालन गरिएको थियो। तर उक्त हेलिकप्टरले जोखिमपूर्ण अवस्थाका कारण उद्धार गर्न नसकी फर्किनुपरेको थियो। त्यसपछि ठूलो क्षमताको एमआई–१७ हेलिकप्टर परिचालन गरी सफलतापूर्वक उनीहरूको उद्धार गरिएको हो।

घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले तत्काल खबर गरेपछि नेपाली सेनाले उद्धारको पहल थालेको थियो। नदीमा पानीको सतह बढिरहेकाले समयमै गरिएको उद्धारले संभावित ठूलो दुर्घटनाबाट जोगिएको जनाइएको छ।

स्थानीय प्रशासनले आगामी दिनमा वर्षा र बाढीको सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।