रुसी राष्ट्रपति पुटिनद्वारा बर्खास्तीपछि पूर्व यातायात मन्त्रीले गरे आत्महत्या

तु खबर संवाददाता
२०८२ असार २३, सोमबार २०:५०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा बर्खास्त गरेपछि देशका पूर्व यातायात मन्त्री रोमन स्टारोभोयटले आत्महत्या गरेका छन्। रूसी सञ्चार माध्यमका अनुसार स्टारोभोयटले मस्को नजिकको उपनगरमा आफ्नै कारभित्र आफैंलाई गोली हानेका थिए। उनको शव बन्दुकको गोली लागेको अवस्थामा फेला परेको अनुसन्धान समितिले पुष्टि गरेको छ।

एएफपीले उद्धृत गरेका रूसी समाचार एजेन्सीहरूका अनुसार आत्महत्याको घटना राष्ट्रपति पुटिनले उनलाई पदबाट हटाउने आदेश जारी गरेकै दिन भएको हो। तर, स्टारोभोयटको बर्खास्तीको स्पष्ट कारण भने  उल्लेख गरिएको छैन।

स्टारोभोयटका स्थानमा उप यातायात मन्त्री आन्द्रेई निकितिनलाई कार्यवाहक मन्त्रीको रूपमा नियुक्त गरिएको छ। रोमन स्टारोभोयटले एक वर्षअघि मात्र यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

उच्च पदस्थ व्यक्तिहरूको मानसिक स्वास्थ्य र प्रशासनिक दबाबबारे यो घटनाले रूसी राजनीतिमा नयाँ बहस सुरु गरिदिएको छ।