व्यवस्था निलम्बन गर्न कांग्रेस नेतृ डिनाको माग

तु खबर संवाददाता
२०८२ असार २३, सोमबार ०९:०१

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीको विधानमा उल्लेख गरिएको ‘चार वर्षमा सबै तहमा अधिवेशन’को व्यवस्था कार्यान्वयन गर्न असम्भव भएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेकी छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले वडादेखि केन्द्र तहसम्म चार वर्षमा अधिवेशन गर्ने भनिए पनि त्यो व्यवहारमा सम्भव नभएको बताइन् । उनले भनिन्, ‘विधानको विविधमा हरेक तहको निर्वाचन, अधिवेशन वडा तहदेखि केन्द्रीय तहसम्मको अधिवेशन चार वर्षमा हुनेछ भनेका छौँ । वडा तहदेखि केन्द्रको अधिवेशन चार वर्षमा कसरी हुन्छ रु’

उनले थप भनिन्, ‘चार वर्षमा सबै तहमा अधिवेशन हुने विधानको व्यवस्था अनुसार केन्द्रको मात्रै कुरा होइन नि । वडाको अधिवशेन गर्ने समयावधि सकिसकेको छ । जिल्लाको समयावधि सकिने बेला भइसकेको छ । त्यसकारणले यो कुराहरूलाई गम्भीर रूपमा लिनुपर्छ ।’

उनले विधानले तोकेको समयमै अधिवेशन हुन नसकेको अवस्था देखिएको भन्दै त्यो व्यवस्थालाई निलम्बन गर्नुपर्ने धारणा राखेकी हुन्।