आज प्रतिनिधिसभाको बैठकः यस्ता छन् एजेण्डा

तु खबर संवाददाता
२०८२ असार २३, सोमबार ०८:५५
file-photo

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले विधेयकहरु टेबुल गर्ने कार्यसुची छ ।

कार्यसूची अनुसार, सचिव राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने छन् ।

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिने तय भएको छ ।

त्यस्तै आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रतिनिधिसभाले जनाएको छ ।