चतुर्मासको आरम्भ आज हरिशयनी एकादशी तुलसी पूजाको विशेष आराधना सुरु

तु खबर संवाददाता
२०८२ असार २२, आईतवार ०७:५९

आज आषाढ शुक्ल एकादशीको अवसरमा सनातन धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर चतुर्मास अवधिभर गरिने विशेष पूजा आराधना सुरु गरेका छन्। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिने परम्परा रहेको छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म विशेष पूजा गरिन्छ।

धर्मशास्त्र अनुसार, आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई “हरिशयनी एकादशी” भनिन्छ। यस चार महिने अवधिलाई “चतुर्मास” पनि भनिन्छ। एक वर्षमा २४ वटा एकादशी पर्न आउने भए पनि चतुर्मासभित्रका आठ एकादशीमा विशेष व्रत बस्ने परम्परा छ। सक्नेले प्रत्येक एकादशीमा फलाहार गरेर व्रत बस्ने चलन छ भने नसक्नेहरू कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने गर्दछन्।

आजको दिन राजधानीको बूढानीलकण्ठ, चार नारायण क्षेत्रहरू तथा देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। एकादशीका दिन चामलजन्य परिकार त्याग गरिने र रोटी तथा फलफूल आदि सेवन गर्ने धार्मिक मान्यता छ।

तुलसीलाई वैज्ञानिक दृष्टिले पनि उपयोगी मानिएको छ। तुलसीको उपस्थितिले वायुमण्डलमा अक्सिजनको मात्रा उच्च हुने, रोग सार्ने कीटाणुहरू नष्ट हुने र वास्तु दोष निवारण हुने मानिन्छ। तुलसीको मोठ भएका स्थानमा शुद्ध हावा बहने वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ। धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको आजको दिनले आध्यात्मिक चेतना र प्रकृति संरक्षणप्रतिको भावना दुवैलाई सुदृढ बनाउँछ