वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

तु खबर संवाददाता
२०८२ असार २१, शनिबार १२:३७

वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि आज बिहान पशुपति आर्यघाटमा गरिएको छ। केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।

उनको पार्थिव शरीरमा नेपाली झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। स्तन क्यान्सरलगायतका रोगबाट पीडित श्रेष्ठ पछिल्ला केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि अभिनयमा सक्रिय रहेकी उनले ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘कान्छी’ र ‘उल्टो सुल्टो’ जस्ता लोकप्रिय टेलिसिरियलहरूमा अभिनय गरेकी थिइन्।

त्यस्तै, ‘लक्का जवान’ फिल्म तथा थुप्रै म्युजिक भिडियोहरूमा समेत उनको अभिनय देखिएको थियो। उनका योगदानहरू नेपाली मनोरञ्जन क्षेत्रमा सदैव सम्झनलायक रहनेछन्।