गल्ती सच्याइदिन राष्ट्रियसभालाई राज्य व्यवस्था समितिको पत्र

तु खबर संवाददाता
२०८२ असार १८, बुधबार १८:०६

काठमाडौं । प्रतिनिधिसभाबाट पारित विधेयकमा गल्ती भएको खुलासा भएपछि आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्यसलाई सच्याइदिन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिका सभापति रामहरि खतिवडाको अध्यक्षतामा भएको बैठकले विधेयकको कुलिङ पिरियड सम्बन्धमा भएको गल्ती सच्याइदिन अनुरोध गर्ने निर्णय गरेको हो ।

विधेयकको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात हुनेगरी उपदफा थपिएर कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई निश्क्रिय बनाउने गरी भएको बुँदा संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय भएको सभापति खतिवडाले जानकारी दिए ।

यसअघि समितिबाट पारित भएको भन्दा भिन्न व्यवस्था राखी किर्ते गरेको आरोपमा संलग्नहरुलाई कारवाही गरिनुपर्ने माग उठिरहेको छ । स्वम् सभापति खतिवडाले पनि यो अपराध भएकोले यस्को छानबिनका लागि सभामुखलाई अनुरोध गरिने बताएका छन् ।