मुख्यसचिव अर्यालको आकस्मिक अनुगमन
सेवाग्राहीले सरकारी सेवा लिन क्रममा भोग्नुपरेको समस्याको पहिचान र समाधानका लागि सरकारले महत्वपूर्ण कदम चालेको छ। यसै सन्दर्भमा मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभागलगायतका विभिन्न निकायको अनुगमन गरेका छन्। अनुगमनको क्रममा उनले ती विभागहरूमा सेवा प्रवाहमा देखिएका चुनौतीबारे जानकारी लिएर सुधारको खाँचो औंल्याएका हुन्।
अर्यालले सेवा लिन नागरिकलाई अझै सास्ती भोग्नुपरेको भन्दै समस्याको जडमा पुग्न अनुगमन गरिएको जानकारी दिए। उनले अध्यागमन, वैदेशिक रोजगार, राहदानी तथा नेपाल प्रहरीका प्रणालीहरू एकीकृत गर्ने तयारी भइरहेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन ठोस पहल थालिएको बताए।
तीन तहका सरकारबीच समन्वयको अभावले केही सेवामा अवरोध देखिएको उल्लेख गर्दै मुख्यसचिवले तत्काल सुधारका लागि सम्बन्धित निकायलाई टेलिफोनमार्फत निर्देशनसमेत दिएका छन्। आगामी वर्षमा प्रणालीगत सुधारका लागि थप पहल गरिने उनको भनाइ छ। अनुगमनका क्रममा नागरिकले भोगिरहेका समस्या प्रत्यक्ष अवलोकन भएपछि सरकार सेवा सुधारप्रति गम्भीर भएको संकेत देखिएको छ।
