समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ : नेता सापकोटा

तु खबर संवाददाता
२०८२ असार १७, मंगलवार १२:४६
तस्बिर : प्रतिनिधिसभा, नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले उनीहरुले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

कुलिङ पिरियडमाथि भएको किर्तेले सांसदको गरिमाथि गम्भीर अपमान भएको सापकोटाको भनाइ छ ।

उच्चस्तरीय या संसदीय छानबिन समिति बनाएर संलग्नहरूलाई कारबाही गर्नुपर्छ, नत्र संसद्को सर्वोच्चता कायम रहँदैन– सापकोटाले भने । उनले सभापति र सचिवले राजीनामा दिनुपर्छ । छानबिन समिति पनि बनाइनु पर्ने अन्यथा बैठक नचल्ने सापकोटाको भनाई छ ।

कर्मचारीको उच्च पदबाट राजीनामा दिन नपाउँदै संवैधानिक आयोगहरुमा नियुक्ति लिन लाइन लाग्ने प्रवृत्तिको अन्त्य गर्न माग गर्दै जागीर समाप्त भएको कम्तीमा २ वर्षसम्म त्यस्ता नियुक्तिहरु लिन नपाइने प्रावधान राखेर समितिले विधेयक टुंगो लगाएको थियो ।

विधेयकमा २ वर्षे कुलिङ परियड सम्बन्धी प्रावधान रहने भएपछि मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा राजनीतिक दल तथा सरकारका मन्त्रीहरुकोमा दबाब बढाउने प्रयास भएको थियो । तर, सो प्रयासका बाबजुद राज्य व्यवस्था समितिमा सो प्रावधान राखेर बिधेयक पास गरिएको थियो ।

सोही बिधेयकमाथि किर्ते गर्दै कुलिङ पिरियडलाई निश्प्रभावी बनाउने खेल भएको खुलेपछि अहिले समितिका सभापति रामहरि खतिवडा र सचिव विवादमा तानिकएका हुन् ।