राजनीति र न्यायको दोधारमा नेतन्याहूको भ्रष्टाचार मुद्दा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामना गरिरहेको भ्रष्टाचार मुद्दा सोमबार जेरुसेलम जिल्ला अदालतले सुरक्षा र कूटनीतिक आधारमा स्थगित गरेपछि उनलाई ठूलो राहत मिलेको छ। नेतन्याहूले इजरायली गुप्तचर निकाय मोसाद तथा सैन्य गुप्तचर विभागका प्रमुखहरूको सिफारिससहित अदालत समक्ष सुरक्षा चासोको कारण देखाउँदै मुद्दा स्थगनको माग गरेका थिए, जुन अदालतले स्वीकार गरेको हो।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘विच हन्ट’ टिप्पणीको सन्दर्भमा थप चर्चाको विषय बनेको छ। ट्रम्पले नेतन्याहूविरुद्ध भइरहेको मुद्दालाई “पागलपन” भन्दै कडा आलोचना गरेका छन् र वाशिंगटनले इजरायललाई अरबौं डलर सहयोग गरिरहँदा यस्ता कार्यहरू सह्य नहुने चेतावनी दिएका छन्। ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा गरिएको पोस्टमा उनले नेतन्याहूले हमाससँग वार्ताको प्रयास गरिरहेका बेला यस्तो मुद्दा अस्वीकार्य भएको दाबी गरे।
नेतन्याहूले ट्रम्पको पोस्टलाई ‘X’ मा रिट्वीट गर्दै धन्यवाद दिएका छन् र “सङ्गै हामी मध्य पूर्वलाई फेरि महान् बनाउनेछौं” भन्दै समर्थनको जवाफ दिएका छन्। यद्यपि इजरायली अभियोजन पक्षले ट्रम्पको बयानमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
नेतन्याहू सन् २०१९ मा घूसखोरी, धोखाधडी र विश्वासको उल्लंघनको आरोपमा अभियुक्त बनाइएका थिए, जसलाई उनले राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै अस्वीकार गर्दै आएका छन्। उनले आफूविरुद्धको मुद्दालाई वामपन्थीहरूको ‘विच हन्ट’ को संज्ञा दिएका छन्, जुन ट्रम्पको बयानसँग मेल खान्छ।
हालै मात्र सकिएको इजरायल–इराक १२ दिने द्वन्द्वपछि नेतन्याहूले सुरक्षा चासोका कारण मुद्दा स्थगनको माग गरेका थिए। उनले द्वन्द्वपछिको संवेदनशील परिस्थिति झल्काउँदै तत्काल बयान दिन नसकिने बताएका थिए, यद्यपि अदालतले गत शुक्रबार उनको ढिलाइको अनुरोध अस्वीकार गरेको थियो।
यो घटनाले नेतन्याहूको कानुनी चुनौती र ट्रम्पको सक्रिय अन्तर्राष्ट्रिय कूटनीतिक हस्तक्षेपबीचको सम्बन्धलाई उजागर गरेको छ, जसले न्याय प्रणाली र राजनीतिक समर्थनबीचको सन्तुलनमा नयाँ बहस ल्याएको छ।