बागमती प्रदेश प्रमुखद्वारा राष्ट्रिय धान दिवसको शुभकामना

तु खबर संवाददाता
२०८२ असार १५, आईतवार ११:५०

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले धान उत्पादन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । आज राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना दिँदै प्रमुख देवकोटाले यो दीगो समृद्धिको अनिवार्य सर्त भएको समेत बताए ।

हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले आमकृषकहरूलाई सम्मान, कृषि प्रणालीमा नवप्रवर्तन र खाद्य सुरक्षाको सुनिश्चितता तर्फको साझा प्रतिवद्धतालाई स्मरण गराउने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले ‘सम्पूर्ण मेहनती किसान दाजुभाइ तथा दिदीबहिनीलगायत सबैमा धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को हार्दिक शुभकामना– उनले भनेका छन् ।

धान केवल अन्नबाली होइन, यो हाम्रो समाजको भावनात्मक, सांस्कृतिक र आर्थिक संरचनाको मेरुदण्ड हो– देवकोटाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
सम्बन्धित निकायहरूले कृषकमैत्री नीति निर्माण, बीउ, मलखाद र सिँचाइमा पहुँच, आधुनिक उपकरणको प्रयोग, बजार सुनिश्चितता, बीमा तथा अनुदान जस्ता विषयमा प्राथमिकता दिनु नितान्त जरुरी रहेको समेत देवकोटाको सुझाव छ ।

मानो रोपेर मुरी उब्जाउने लक्ष्य बोकेको आजको दिनले आसा, कर्मप्रतिको भरोसा, प्रकृतिसंगको अटुट सम्बन्ध र सृजनालाई प्रतिविम्बित गर्दछ, प्रदेश प्रमुख देवकोटाले भनेका छन् ।