कार्यवाहक प्रधानमन्त्री सिंहले सम्हाल्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा रहँदा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यहरू सम्हाल्नका लागि उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकेको जानकारी दिएकी हुन् ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली त्यस तर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले स्पेनमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने, सम्बोधन गर्ने लगायतका कार्यक्रमहरुमा सहभागी हुनेछन् ।