सडकमा घाइते भेटिएका एक व्यक्तिको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटार स्थित सडक छेउमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको हो । सवारीसाधनले ठक्कर दिएको आशंका प्रहरीको छ ।
घाइतेलाई तत्कालै उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो। तर अस्पतालमा डाक्टरले बिहान ३–२० बजे उनलाई मृत घोषणा गरेका छन्। शव हेटौंडा अस्पतालमै राखिएको छ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। सवारी ठक्कर वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो वा होइन भन्नेबारे थप विवरण आवश्यक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।