ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्का

तु खबर संवाददाता
२०८२ असार १२, बिहीबार १९:०६

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्।

यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्दै ऊर्जा सुरक्षालाई आधुनिक जीवनका लागि अनिवार्य आवश्यकता भनेका छन्।

मन्त्री खड्काले भने, ‘ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय हो।’ उनले क्षेत्रीय सहकार्य, नीतिगत नवप्रवर्तन र लगानीको महत्त्वमा जोड दिँदै ऊर्जा सुरक्षा र उच्च गुणस्तरीय ऊर्जा विकासका लागि एकजुट हुन आग्रह गरे ।

नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको र ९९ प्रतिशत जनतालाई विद्युत् पहुँचमा पुर्‍याएको उल्लेख गर्दै, उनले ९५ प्रतिशत भन्दा बढी विद्युत उत्पादन नवीकरणीय उर्जाका स्रोतबाट गरिरहेको जानकारी दिए। नेपालले भारतसँग १३२ केभी र ४०० केभी प्रसारण लाइन्स सञ्चालनमा ल्याएको छ र बङ्गलादेशसँग ऐतिहासिक विद्युत् निर्यात सम्झौतामा हस्ताक्षर गरेको छ। साथै, नेपाल र चीन बीच रसुवागढी–चिलिमे–जिलोंग/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेछ।