बागमतीको बजेट : खारेज गर्ने घोषणा गरिएको दुग्ध विकास बोर्डलाई बजेट व्यवस्था

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी वर्षको निम्ति बजेट सार्वजनिक गर्यो । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभामा बजेट सार्वजनिक गर्दा दुग्ध विकास बोर्ड र सहकारी बोर्डलगायतका संरचनाहरु खारेज गर्ने घोषणा गरे ।
बजेट बक्तव्यको पेज नम्बर ३९ को १९१ बुँदामा व्यवस्था गरेको कुरा उनले बजेट प्रस्तुत गर्दा सुनाए । सो बुँदामा भनिएको छ – प्रदेश संरचना अन्तर्गत स्थापना भएको प्रदेश युवा परिषद् र प्रदेश खेलकुद विकास परिषद्लाई गाभी प्रदेश युवा तथा खेलकुद विकास परिषद् बनाइनेछ । प्रदेश दुग्ध विकास बोर्ड, प्रदेश सहकारी विकास बोर्ड, र अन्य अनावश्यक संरचनाहरु खारेज गरिनेछ ।
तर, आश्चर्यको कुरा के छ भने आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले खारेज गर्ने घोषणा गरेको प्रदेश दुग्ध विकास बोर्डको लागि बाक्लै बजेट विनियोजन गरेका छन् ।
दुग्धजन्य यन्त्र उपकरण मर्मत तथा संचालन सम्बन्धी ३ दिने तालिम, दुग्ध पदार्थ विविधिकरण सम्बन्धी तालिम, चरन खर्क सुधार कार्यक्रम, थुनेलो रोग नियन्त्रणका लागि टिप टिपिङ प्रविधि प्रसार एवम् सामग्री सहयोग कार्यक्रम, सामुदायिक साइलेज प्लान्ट स्थापना तथा सुदृढिकरण कार्यक्रम, उत्पादनमा प्रविधि एवम् यन्त्र सहयोग कार्यक्रम, दुग्ध सहकारीहरुमा आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम, दुग्ध पदार्थ संकलन, प्रविष्ट, विश्लेषण एवम् प्रतिवेदन तयारी, पशु आहारा अभियान कार्यक्रम, प्रदेश स्तरीय दुग्ध किसान सम्मेलन, दुग्धजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रम, कार्यालय घर भाडा र जेनेरेटर खरिदका लागि बजेटको व्यवस्था गरिएको छ । (हेर्नुहोस, छुट्याएको बजेट) ।
बजेटको आकारका विषयमा मन्त्री र सचिवबीच झमेला भएपछि हिजो निर्धारित समयमा बजेट प्रस्तुत हुन सकेन । हचुवाको तालमा बजेट बिनियोजन गरिएको खुलेको छ ।