बागमतीमा कृषि तथा पशुपक्षी क्षेत्रमा यस्तो छ बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले हिजो आइतबार राति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई निरन्तरता दिन २५ करोड ५० लाख बिनियोजन गरेका छन् । तरकारी फलफूल तथा माछामासु जस्ता उपजहरुमा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मुल्य अन्तरलाई घटाउन स्थानीय तहसँगको लागत साझेदारीमा पाइलटिङको रुपमा कृषि उपज केन्द्र स्थापना गरी कृषि एम्बुलेन्स र भण्डारणको व्यवस्था गर्ने घोषणा बजेटमा भएको छ । उपभोक्तालाई विषादीरहित फलफुल, तरकारी उपलब्धताका लागि १६ वटा स्थानीय तहमा सूचना प्रविधिमा आधारित विषादी अवषेश परीक्षण प्रयोगशाला स्थापना र संचालन गर्न ९ करोड बजेटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, सहकारी संघसस्था र कम्पनीहरुको लागत साझेदारीमा ४ वटा स्मार्ट कृषि फर्म स्थापनाका लागि ६ करोड बिनियोजन गरिएको छ । मासुको आपूर्तिलाई प्रभावकारी बनाउन काठमाडौं र धादिङ जिल्लामा बधशाला स्थापना गर्न ६ करोड बिनियोजन गरिएको मन्त्री काफ्लेले घोषणा गरे । प्रदेशको एक जिल्ला एक विशेष कृति उत्पादन पकेट क्षेत्र कार्यक्रमका लागि पनि बजेटको व्यवस्था गरिएको छ । सो बजेट पुस्तक अनुसार, ६ करोड ५० लाख विनियोजन गरिएको छ ।
तहगत सरकारको समन्वयमा सहुलियतपूर्ण कर्जाको व्याजमा अनुदान कार्यक्रमलाई निरन्तरता दिन ५ करोड बजेट व्यवस्था गरिएको छ । त्यस्तै, प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्सहन कार्यक्रमका लागि २० करोड बजेट छुट्याइएको छ । खोरेत लगायत महामारीजन्य रोगको नियन्त्रणका लागि १२ करोड रकमको व्यवस्था गरिएको हो ।
उच्च प्रविधियुक्त संरचनामा च्याउ उत्पादन, दुग्ध चिस्यान, तथा मत्स्य पालनमा खपन हुने विद्युत महसुलमा ५० प्रतिशत रकम अनुदान दिने कार्यक्रमलाई पनि यथावत राखिएको छ ।