टिप्पणी : इजरायलमा भिषण इरानी हमला,विश्व अर्थतन्त्र थप अप्ठेरोमा
काठमाडौं । इरान र इजरायलबीचको युद्ध भड्किदा यसले मध्यपूर्व मात्र होइन, विश्वलाई नै चिन्तित बनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले युद्ध र रोक्न र शान्तिपूर्ण कुटनीतिक प्रयासमार्फत् समस्या समाधान गर्न दुबै देशलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका विभिन्न सन्धीसम्झौता र प्रावधानहरु ख्याल गर्न पनि आह्वान गरेका छन् ।
दुबैको रक्तपातपूर्ण आक्रमण र प्रत्याक्रमणका कारण निम्तिन सक्ने घटनाहरुले अहिले विश्व राजनीति नै तरंगित भएको । इजरायलको राजधानी जेरुसेलम तथा आर्थिक केन्द्र तलअभिभमा इरानले भिषण मिसाइल आक्रमण गरेको छ । जसमा १०० भन्दा बढि घाइते तथा छ जनाको ज्यान गएको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आइरहेका छन् । यी सञ्चारमाध्यममा आएका सूचनाहरु पूर्ण छैनन्, यसमा घाइते र मृतकहरुको संख्या अझ बढी हुन सक्ने अनुमान भइरहेको छ ।
उता, इजरायलले पनि इरानको राजधानी तेहरानस्थित रक्षा मन्त्रालय र विभिन्न तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । इजरायलले विश्वकै ठूलो तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको जनाइएको छ ।
दुई देशका बीचमा जारी भिषण र रक्तपातपूर्ण युद्धले विश्व अर्थतन्त्रमा नकारात्मक असर देखिन सुरु भइसकेको छ । युद्ध सुरु भएलगत्तै इन्धनको मूल्य यो बर्षकै सबैभन्दा माथि पुगेको छ भने सुनको मूल्यमा उच्च बृद्धि सुरु भइसकेको छ । बीबीसीका अनुसार, अन्र्तराष्ट्रिय बजारमा इन्धनको मुल्य अझै बढ्ने छ भने खाद्यन्न लगायतका संकटहरु पनि देखिने छन् ।
दुबै देशबीच चलिरहेको यो युद्धलाई कुटनीतिक तरिकाले हल गर्न विश्व समुदायले आग्रह गरिरहेको भएपनि दुबै देशले यो आग्रहलाई तत्काल सुन्ने स्थिति देखिएको छैन । विश्वका शक्तिशाली राष्ट्रहरुको ध्रुवीकरणले पनि इरान र इजरायलबीचको युद्धलाई प्रत्यक्ष परोक्ष रुपमा बल पुर्याइरहेको छ । यसमा संयुक्त राष्ट्रसंघको भूमिका कति बलियो हुन्छ त्यसले यो युद्धको परिणाममा भिन्नता देखिन सक्छ ।
