मेयर बालेन्द्र साह विरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्।
‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर बालेन्द्र साहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ।’
आफूले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध गरेको नभई जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को अनुसार बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा अपारदर्शी खरिद गरेर अनियमितता गरेकाले आपत्ति रहेको सफलले पत्रमा उल्लेख गरेका छन्।
