जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : भुसाल

तु खबर संवाददाता
२०८२ जेष्ठ २४, शनिबार १६:२१
तस्बिरः घनश्याम ढकालको फेसबुक पेजबाट

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्नता नरहेको बताएका छन् ।

तिलोत्तमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले अख्तियारले दावी गरेजस्तो पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको संलग्नता नरहेको उनले बताएका हुन् ।

आफूहरुले अदालत र कानूनको सम्मान गर्ने स्पष्ट पार्दै महासचिव भुसालले अध्यक्ष नेपालमाथि बदला स्वरुप २०८४ भित्र सकाउने गरी मुद्धा चलाएको बताए । अख्तियारले यस अघि नै मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नसक्ने प्रावधान अनुरुप तामेलीमा राखेको मुद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्युँताएको भुसालको जिकीर छ ।

यस सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई जस्तै प्रतिशोध साँध्न मुद्धा चलाइएको भुसालको दावी छ ।

केही दिनअघि पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरुलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर भएपछि नेपालको संसद पद समेत गुमेको छ । अदालतबाट अन्तिम टुंगो नभएसम्म नेपाल संसद फर्किन पाउने छैनन् ।