अनलाइनबाटै भिसा सुविधा उपलब्ध गराइने, नेपाल पढ्न आउने विद्यार्थीलाई निशुल्क भिजा

तु खबर संवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १७:१०

काठमाडौं । अध्यागमन प्रणालीको स्तारोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइनबाटै भिसा दिने सुविधा उपलब्ध गराइने भएको छ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

साथै उनले स्टार्टअप व्यवसायमा काम गर्ने तथा लगानीकर्तालाई निःशुल्क आवासीय भिसा र नेपालमा बसेर विदेशी कम्पनीको लागि काम गर्नेलाई डिजिटल रूपमै भिसा उपलब्ध गराइने उल्लेख गरेका छन्।

यसैगरी, विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरको भिजा शुल्क नलिने घोषणा गरेका हुन् ।

शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसाको व्यवस्था समेत गरिने घोषणा बजेटमा गरिएको छ ।