मकवानपुरमा बस दुर्घटना, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ जेष्ठ १२, सोमबार २१:४७

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ त्रिभुवन राजपथ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, ब्रेक फेल भई यात्रुबाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा थाहा नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिएको थियो भने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको घरभित्र बस पसेको थियो ।

त्यस्तै झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादव र शिखरकोट मालपोत कार्यालयमा कार्यरत कमलेश कुमार साह दुर्घटनामा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका वडा नम्बर १ का रामगुलाम चौधरी सामान्य घाइते भएका छन्।