सव-इन्जिनियरद्वारा ३ करोड ६३ लाख भ्रष्टाचार

तु खबर संवाददाता
२०८२ बैशाख २८, आईतवार १७:०७
file-photo

काठमाडौँ । उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालमाथि ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

पौड्यालले आफ्नो सेवा अवधिभर पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा वैध आम्दानीभन्दा धेरै खर्च भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार पौड्यालले २०५१ सालदेखि २०८० सालसम्मको अवधिमा तलबी पारिश्रमिक, वैठक भत्ता, जग्गा बिक्री आय, लाभांश, कृषि तथा ब्याज आम्दानीलगायतबाट कुल वैध आय २ करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए। तर, सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सवारीसाधन तथा शेयर खरिद, रेष्टुरेन्ट लगानी, सुन किन्नेजस्ता शीर्षकमा ६ करोड २२ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए।

जाँचपछिको तथ्याङ्कअनुसार पौड्यालको आम्दानी र खर्चमा ३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको फरक देखिएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ तथा २०५९ का प्रावधानअनुसार पौड्यालमाथि कैद, जरिवाना र सोही बराबरको सम्पत्ति जफतको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

यससँगै पौड्यालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको पाइएकाले जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको जनाएको छ।