राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसद् मा पेश

तु खबर संवाददाता
२०८२ बैशाख १९, शुक्रबार १६:४६

काठमाडौँ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

सरकारको आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद् भवनमा पुग्दा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षले स्वागत गरेपछि राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन कायम गर्न सरकारको प्रतिवद्धता रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको सुनाए ।

अराजकता फैलाउनेप्रति र गणतन्त्रको विरुद्धको प्रतिकृयालाई कडा रुपमा प्रतिवाद गरिने समेत बताए ।

चौध वर्षमुनीका वालबालिकालाई निशुल्क उपचार, निजामति कर्मचारी विधेयक वर्षे अधिवेशनबाट पारित गर्ने, अनावश्यक सार्वजनिक संरचनालाई खारेज गर्ने वा गाभ्ने, सहकारी पीडितलाई वचतकर्तालाई राहत दिन कोषको स्थापना, भृकुटीमण्डलमा अन्तर्राष्टिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क निर्माण गरिने, सामाजिक सुरक्षा कोष अनिवार्य गरिने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् ।

त्यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा समेत गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत् भूमि सम्बन्धी बिधेयक चालु अधिवेशनबाट पारित गर्ने, नयाँ सहकारी राष्ट्रिय नीति जारी गर्ने, त्रुटीपूर्ण आयोजनाहरु खारेज गरिने र संविधान संसोधन गरिने घोषणा सरकारको छ ।