प्रतिनिधिसभा सदस्य राई पक्राउ बारे सभामुखलाई सूचना
काठमाडौँ । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको विषयमा सभामुखलाई जानकारी दिएको छ ।
सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसरले जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई अनुसन्धानका लागि पक्राउ गरेको र प्रहरी हिरासतमा रहेको जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।
राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो । उनी केही दिनअघि बसेको प्रतिनिधिसभामा देखिँदासमेत प्रहरीले पक्राउ नगरेकोमा प्रहरीको आलोचना भएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपनि माथिको आदेश नभएको भन्दै प्रहरीले राईलाई पक्राउ गरेको थिएन ।
सत्ता पक्षको प्रतिनिधिसभा सदस्य भएकोले प्रहरीले पक्राउ नगरेकोमा सरकारको चर्को आलोचना समेत भएको थियो ।



