पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार ०८:५८

विराटनगर । पाँचथरको फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ११ वर्षीय दिपस्न साँवा र २ वर्षीय प्रियसा साँवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार, हिजो बिहीबार डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किएको थियो ।

विस्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएका दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, उक्त विस्फोटक पदार्थ पड्किँदा अन्य दुुई बालक घाइते भएका छन् । घाइते हुनेहरुमा ११ वर्षीय पवन राई र दिप्सन राई रहेका छन् ।

कस्तो विस्फोटक पदार्थ, के हो भन्ने हाल नखुलेको भन्दै प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साथै अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।