हेटौंडामा बिहानै सवारी दुर्घटना, तीन जना घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, मास्टर चोकमा आज बिहानै सवारी दुर्घटना भएको छ ।
बिहान ६ः२० बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको एन.एल ०१ एल २९७१ नम्वरको भारतीय एल.पि. ग्याँस बुलेटले विपरीत दिसातर्फ जाँदै गरेको ग.३ च ८४४९ नं.को कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते हुनेहरुमा कार चालक स्याङ्जा अरुणचौपाही नगरपालिका–१ बस्ने वर्ष ३३ को चुडाबहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा महानगरपालिका–११ बस्ने वर्ष ६३ को पुरण श्रेष्ठ र लम्जुङको बेसीसहर नगरपालिका वडा नम्वर ८ बस्ने वर्ष १७ की नेहा राना मगर रहेका छन् ।
घाइते उनीहरुलाई उपचारको लागि हेटौंडाको सन्चो हस्पिटल पठाइएको छ ।
घटनापश्चात बुलेट चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।
प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
