खानेपानी तथा सिँचाईको अवस्था बुझ्न बागमती गाउँपालिका पुगे मन्त्री खड्का

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १८:३२

मकवानपुर । बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले मकवानपुरको बागमती गाउँपालिकाको खानेपानी तथा सिँचाईको अवस्थाको बारेका अनुगमन गरेका छन् ।

वर्षौदेखि चौराह खोला र बागमती नदीका कारण समस्यामा परेका स्थानीयहरुको आग्रह अनुसार मन्त्री खड्काले सो क्षेत्रको निरीक्षण गरेका हुन् । चौराह खोला र बागमती नदीले बागमती गाउँपालिकाका वडा नम्बर १, ६, ७ र ८ को खेतीयोग्य जमिन वर्षेनी कटान हुने गरेको छ ।

२०५० साल यता हालसम्म यी क्षेत्रका करिब ५ सय बिगाह खेतीयोग्य जमिन नदीले कटान गरेको बागमती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना केशवले बताए । नदीले निरन्तर खेतीयोग्य जग्गा कटान गर्न थालेपछि स्थानीयहरुले सास्ती भोगिरहेका छन् ।

नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गरि समस्या समाधान गरिदिन उनले मन्त्री खड्का समक्ष आग्रह गरे । वडा नम्बर ८ मा मात्रै करिब १ हजार मिटर तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले जानकारी गराए ।

निरीक्षणपछि मन्त्री खड्काले आफू यस विषयमा गम्भिर भएको बताउँदै समस्या समाधानमा पहल गर्ने दृढता व्यक्त गरे । स्थानीयको जनगुनासलाई मध्यनजर गर्दै प्रदेश सरकारले तटबन्ध निर्माण र खानेपानी समस्या समाधानमा पहल गर्ने उनले बताए ।

अनुगमनमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मकवानपुरका डिभिजन प्रमुख निर्मल दहाल, इन्जियर दिनेश पोखरेल, निजी सचिव विष्णु खतिवडा, नेपाली कांग्रेसका नेता सुशान्तकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।