मकवानपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते
मकवानपुर । मकवानपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा मंगलबार सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको कान्तिलोक सडकखण्ड अन्तरगत पर्ने बकैयामा र पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्लाको बकैया गाउँपालिका–११, घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा हेटौंडबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र.०३–००१ क ०११७ नं.को बालुवा लोड गरेको टिप्पर आफै अनियन्त्रित भई सडकको दाँया किनाराको नालामा पल्टि दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा टिपरमा सवार मकवानपुरगढी गाउँपालिका–६, बस्ने ३५ वर्षीय ओम बजगाई, भीमफेदी गाउँपालिका–३ बस्ने ३१ वर्षीय राम लामा र हेटौंडा उपमहानगरपालिका –१४ बस्ने ४७ वर्षीय नारायण लामा रहेका छन् ।
घाइते तीनै जनालाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको छ । प्रहरीले टिपर चालक बारा निजगढ नगरपालिका–३, खयरघारि बस्ने ३२ वर्षीय राजेश न्यौपानेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, मंगलबार साँझ सवा ५ बजेको समयमा पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका–८, ज्यामिरेमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ६६०४ न.को ट्याङकरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ७३९० नं को मोटरसाइकल ट्याङकरको पछाडी ठोकिन गई दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक बाराको जितपुर उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय तर्पे आलम अन्सारी र मोटरसाइकलमा पछाडी सवार निजको भतिजो अन्दाजी १७ वर्षीय आसाहाद देवान रहेका छन् । दुबै घाइतेलाई मनहरी अस्पताल सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भतपुर लगिएको जनाइएको छ ।
