बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने गरी बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक आज बस्ने गरी बोलाइएको हो ।
बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।
हाल मौजुद्धा मन्त्रिपरिषदमा नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् ।
बागमती प्रदेश सभाको बैठक यसअघि असार १४ गते बसेको थियो । उक्त बैठकमा दुई वटा अर्थ सम्बन्धित विधेयक पारित गरेर सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।