हेटौंडाबाट गोरुसहित ट्रक प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङबाट आज दिउँसो गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।
दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशप भित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ६६६८ नं को ट्रकमा गोरुलोड गरी आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।
साथै प्रहरीले ट्रक चालक मनहरी गाउँपालिका वडा नम्वर ६, बसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई समेतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेको गोरु, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाहीको लागि पशु क्वारेनटाईन कार्यालय पथलैया पठाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
