बागमती प्रदेशमा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सम्पन्न
मकवानपुर । बागमती प्रदेशमा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा असार अन्तिमसम्म उक्त प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको १३ जिल्लामा कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा असार ३० गतेसम्म ७९ हजार २५७ हेक्टर क्षेत्रफल अर्थात् ७० दशमलव ५९ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
उनका अनुसार, प्रदेशको सबैभन्दा बढी दोलखा जिल्लामा रोपाइँ सकिएको छ । त्यहाँ ८८ प्रतिशत अर्थात २ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
यसैगरी, धादिङमा ५३ प्रतिशत अथार्त ६ हजार ४६ हेक्टर, काठमाडौंमा ८५ प्रतिशत अर्थात् पाँच हजार ३७ हेक्टर, भक्तपुरमा ७३ प्रतिशत अर्थात् दुई हजार ७१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
यसैगरी, चितवनमा ७८ प्रतिशत अर्थात् १८ हजार ८७८ हेक्टर, मकवानपुरमा ७८ प्रतिशत अर्थात् पाँच हजार ८५९ हेक्टर क्षेत्रफलमा, नुवाकोटमा ६७ प्रतिशत अर्थात् सात हजार ७५८ हेक्टर क्षेत्रफल, रसुवामा ७२ प्रतिशत अर्थात् ७८३ हेक्टर क्षेत्रफल, सिन्धुलीमा ७२ प्रतिशत अर्थात् आठ हजार ५६ हेक्टर क्षेत्रफल, रामेछापमा ६६ प्रतिशत अर्थात् पाँच हजार १८७ हेक्टर क्षेत्रफल, काभ्रेपलान्चोकमा ७४ प्रतिशत अर्थात् सात हजार ४३३ हेक्टर जमिनमा र सिन्धुपाल्चोकमा ६५ प्रतिशत अर्थात् पाँच हजार ७०० हेक्टर जमिनमा धान रोपाइँ सकिएको जनाइएको छ ।
