तथ्यमा आधारित भएर बोलौँः मन्त्री मोक्तान

तु खबर संवाददाता
२०८१ असार ३१, सोमबार १८:२४

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बालबालिकाका सवाल, बाल श्रम तथा बालमैत्रीका बिषयमा अध्ययन गरेर तथ्यमा आधारित भएर बोल्न सुझाव दिएकी छिन् ।

मोक्तानले कार्यकक्षमा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा बाल कल्याण समाज मकवानपुरले प्रकाशन गरेको बाल अधिकारको संरक्षण तथा सम्बर्धन श्रोत सामग्रीको सङ्गालो २०८१ को विमोचन कार्यक्रमका क्रममा पुस्तकबारे बोल्दै यस्तो बताएकी हुन् ।

मन्त्री मोक्तानले बालमैत्री स्थानीय शासनको अवलम्बनको प्रयास गरिरहेको सवालमा सबै तहका पालिका वडा मात्र नभई खानेपानी, वन उपभोक्ता समिती, विद्यालयका शिक्षक तथा अभिभावक साथै राजनैतिक दलका अगुवाहरुलाई समेत यो पुस्तक उपलब्ध गराउनुपर्ने भन्दै बालबालिकाका सवालमा काम गर्दा र बोल्दा मनगणन्ते बिचार नराखी यस पुस्तकको अध्ययन गरेर तथ्य परक हुन समेत सुझाव दिइन् ।

मन्त्री मोक्तान समाजिक विकास मन्त्रालयका सचिव बद्री नाथ गैरे तथा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा मन्त्रालयका समाजिक विकास महाशाखाका खुबिराम अधिकारी तथा अमृत अधिकारी, महिला विकास अधिकारी चन्द्र कुमारी ब्यञ्जन्कार लगायतकाको उपस्थिती थियो ।

कार्यक्रममा धारणा राख्दै मन्त्रालयका सचिव गैरेले बालबालिकाको सवालमा काम गर्नेहरुका लागि अत्यावस्यक रहेको यो पुस्तक तयार भएको भन्दै खुशी व्यक्त गरे । उनले स्थानीय तहहरुमा पनि उपलब्ध गराउन सके राम्रो हुने बताए ।