जन्मदिनको अवसरमा छात्रबृत्ति कोष स्थापना

तु खबर संवाददाता
२०८१ असार २०, बिहीबार १७:१९

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा छात्रबृत्ति कोष स्थापना गरेका छन् ।

प्रधानाध्यापक कार्कीले बिहीबार परेको आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक कार्कीले आफैले अध्ययापन गर्ने विद्यालय जनकल्याण माविमा उक्त छत्रबृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

अक्षयकोषमा आगामी वर्ष पनि रकम थप गरी एक लाख पुर्याउने र सबै सहयोगी मनहरुलाई छात्रबृत्ति कोष स्थापना गर्न अनुरोध गर्दै थाहा नगरमा विज्ञान तथा प्रविधि र साधारण तर्फ उत्कृष्ट हुने विद्यार्थीहरुका साथै आर्थिक समस्याका कारण विद्यालयको पहुँचमा पुग्न कठिन भएकाहरुलाई छात्रबृत्ति कोष सहयोगी हुने प्रधानाध्यापक कार्कीले बताए ।

जनकल्याण माविका पूर्व विद्यार्थी एवम् २०४० सालदेखि हालसम्म यसै विद्यालयमा शिक्षण कार्यमा रहेका कार्की २०५७ सालदेखि प्रधानाध्यपकको जिम्मेवारीमा रहेका छन् ।

प्रधानाध्यापक कार्की अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष, विश्व शिक्षक महासंघ, नेपाल समन्वय समिति अध्यक्ष, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पदेन सदस्य समेत हुन् ।