रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार १०:०३
file photo

रोल्पा । रोल्पामा सोमबार बेलुकी जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, सोही वडाकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी, परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगी रहेका छन् ।

त्यस्तै, सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छन् । उनी जिप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएकी थिइन् ।

जिप दुर्घटनामा चालकसहित १५ जना घाइते भएका थिए ।