घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते

तु खबर संवाददाता
२०८१ असार १६, आईतवार १५:२८

बैतडी । बैतडीको मेलौली नगरपालिका–३ तल्खेतमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् ।

सु.प.प्र–०१–००२ त ४३७० नम्बरको ट्रयाक्टर खस्दा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णीमा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको थियो । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ ।

घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरेको छ ।

दुर्घटनामा परेर ट्याक्टर चालक सामान्य घाइते भएका छन् ।