चट्याङ लागेर तीन बालिका गम्भीर घाइते

सुर्खेत । चट्याङ लागेर कैलालीमा आज बिहान तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।
विद्यालय जाने क्रममा बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ती बालिकाहरू गम्भीर घाइते भएको इलाका प्रहरी सुखडले जनाएको छ ।
घाइते हुनेहरुमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
प्रहरीका अनुसार, चट्याङ लागेर एक बालिकाको आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको छ । उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।