यो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार, बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ ।
त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।