सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहानै रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा हाल नम्वरको नखुलेको यात्रुबाहक बस ठोक्किँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।
यस्तै, उक्त दुर्घटनामा परेर अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बसमा ४० जना सवार रहेका थिए ।