हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार १७:३०

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, दारीमटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ त ४३७६ नम्वरको ट्याक्टरले हेटौंडातर्फबाट नेवारपानीतर्फ जाँदै गरेको बा ७० प ७१८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार कालिकोटको सान्नि त्रिवेनी गाउँपालिका वडा नम्वर ४ बस्ने वर्ष ३० को रमेश तिरुवाको मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।

प्रहरी प्रवक्ता भण्डारीका अनुसार, हिजो शनिबार साँझ साढे ६ बजेको समयमा उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५, तोरीखेत बस्ने वर्ष ३७ को मुस्कान घलान र मोटरसाइकलमा पछाडी सवार तिरुवा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुबै जनालाई उद्दार गरी उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।

तीमध्ये तिरुवालाई राति नै थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएकोमा त्यहाँ पनि उपचार सम्भवन नभएपछि थप उपचारको लागि आइतबार बिहान काठमाडौं ट्रमा सेण्टर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

दुर्घटनामा परेर घाइते भएका घलानको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल र ट्याक्टरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । ट्याक्टर चालक भने हाल फरार रहेको र उनको खोजी गरिरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।