दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा शनिबार ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।