मउवा संघद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १०:३३

मकवानपुर । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले आर्थिक रकम सहयोग गरेको छ ।

संघमा साधारण सदस्य रही सवारी दुर्घटनामा मृत्यु भएका हेटौंडाका व्यवसायी केशवप्रसाद मुडभरी र दिनेश कार्कीको परिवारलाई संघले आर्थिक रकम सहयोग गरेको हो ।

संघको आफ्नै व्यवसायी हितकोषबाट मृतक मुडभरी र कार्कीका परिवारलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।

दुबै जनाको परिवारलाई संघमै बोलाएर बुधबार एक कार्यक्रमबीच उक्त रकम प्रदान गरिएको हो ।

व्यवसायी मुडभरीको बागमती गाउँपालिकामा र कार्कीको मनहरी गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको थियो ।