मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार ०९:२४
File Photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बिहान पौने ७ बजेको समयमा हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ना ८ ख ४८४१ नम्वर ट्रकले चितवनको भरतपुरबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश नम्वर ०३–०३० प १८० नम्वरको मोरटसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर बाराको गढीमाई नगरपालिका वडा नम्वर ३ बस्ने वर्ष २७ को स्तन्दन आलम र सोही वडा बस्ने वर्ष ३७ वर्ष सचिव आलम घाइते भएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

प्रहरी प्रवक्ता भण्डारीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते दुबै जनालाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाएको छ ।

प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आश्यक अनुसन्धान गरिरहेको छ ।